काठमाण्डौ – जिल्ला प्रशासन कार्यालय लमजुङले पहिलो पटक अनलाइन प्रणालीमार्फत सिफारिश लिएर नागरिकता प्रदान गरेको छ ।

राइनास नगरपालिका–५ निवासी सुभेक्षा परियारलाई वडा कार्यालयबाट अनुसूची १ भरेर अनलाइनबाट सिफारिश भई आएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान गरेको हो ।
प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत विष्णुकुमारी न्यौपानेले परियारलाई नागरिकता प्रदान गर्नुभयो ।प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले नागरिकता सिफारिशको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित र छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणाली अपनाइएको बताउनुभयो ।
उहाँका अनुसार पहिला १५ मिनेट लाग्ने काम अब पाँच मिनेटमै हुने छ भने अब छिट्टै समयसीमा तोकेर सबै वडालाई अनिवार्य अनलाइन प्रणालीबाट सिफारिश गर्न लगाइने छ । गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिश अगाडि बढाएपछि राइनास नगरपालिकाले पहिलो पटक यस्तो प्रविधिलाई अपनाएको हो ।
यस प्रणालीमा निवेदकको माग अनुसार विवरण प्रविष्टि गरेपछि सिस्टमबाटै सिफारिश तयार हुने र सिफारिश प्रिन्ट गरेर वडाध्यक्षले सही गरेर छाप लगाएपछि सिस्टममा अपलोड हुने व्यवस्था छ ।
प्रतिक्रिया