बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।
काठमाडौँ । पुसको कठ्याङ्ग्रिने जाडोमा ११ वर्षीय निखिललाई कलङ्कीबाट रात्रिबस चढ्ने यात्रुलाई पानीको बोतल र पत्रु (फास्टफुड) खानेकुरा बिक्री गर्न भ्याइनभ्याई हुन्छ । साँझ (५:३० देखि ९:०० बजे) साहुको पसल बन्द नहुन्जेलसम्म पसलका कुरकुरे, चिजबल, लेज, इमली, पुष्टकारी, पानीलगायत सामान बसभित्रै गएर यात्रुलाई बिक्री गर्नु निखिलको दैनिकी हो । बर्दियाबाट आएका निखिलले बस बसमा लगेर सामान बिक्री गरेबापत दैनिक २०० देखि २५० रुपियाँ पाउनुहुन्छ । सामान बिक्री गर्ने होडबाजी गर्दा कहिलेकाहीँ उहाँले साथीबाट कुटाइ पनि खानुपरेको छ ।
कलङ्कीनजिकै बस र मोटरसाइकल मर्मत ग्यारेजमा काम गर्ने चङ्खे (साहुले बोलाउने नाम) लाई यो चिसोमा समेत बस, मोटरसाइकलको टायरमा हावा भर्न र सफाइ गर्न व्यस्त हुनु पर्छ । मासिक १५ हजार तलब पाउने गरेका चङ्खेलाई पढ्ने मन भएर पनि परिवारको गरिबीले गर्दा नौ वर्षदेखि नै यो काम गर्नुपरेको छ । विगत चार वर्षदेखि ग्यारेजमा चङ्खेलाई रातबिरात जुनसुकै बेला ग्राहकले बोलाएपछि काम गर्नु पर्छ । निखिल र चङ्खे जस्तै अनौपचारिक क्षेत्रमा बालश्रम गर्नेको सङ्ख्या नेपालमा ठुलो छ । बालश्रम (निषेध र नियमित गर्ने) ऐन–२०५६ मा निखिल र चङ्खेको कामलाई जोखिमयुक्त बालश्रम भनिएको छ ।
वि.सं.२०८१ पुस १४ आइतवार ०८:५६