हेलम्बु र मेलम्चीमा हटेन बाढीको त्रास लेदो सहित आएको बाढीले बगायो ६० घर टहरा
सिन्धुपाल्चोक सम्वादाता मेलम्ची ।
लेदो सहित पछिल्लो समयमा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा गरी ६० घर टहरा बगाएको छ।
शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घरटहरा बगाएको हो। हेलम्बुका किउल, चनौटे, ग्याल्थुम लगागत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा ५ घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो। असार १ गते आएको भीषण बाढीले क्षति पुगेका घरहरु बाढीले बगाएको हो।
उहाँका अनुसार चनौटे ग्याल्थुम र ढुँगे्र बजार जोखिममा छन् । हेलम्बु ४ को ढुँगे्र बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानियको घरबाट समान सार्न सहयोग गरिरहेका अधिकारीले जानकारी दिनुभयो ।
जोखिम कायमै रहेकाले खोला आसपासका वासिन्दा हरुलाई सजग रहन आग्रह समेत गरिएको छ। बाढीले चनौटे बजार पुर्ण रुपमा क्षति बनाएको छ। यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो। खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको भएता पनि पछिल्लो पटक आएको बाढीले सबै सम्रचना ध्वस्त बनाएको छ। बाढीले मेलम्ची–१२ मा रहेको मध्य पहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल समेत जोखिममा परेको छ ।
यसअघि गएको असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा रहेको छ । बाढीले ४ गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । त्यस्तै एक फर्निचर उद्योग र रेडियो मेलम्चीको भवन पनि बाढीले बगाएको छ । यस्तै बाढीले हेलम्बुका दुईवटा पक्की पुल र २ वटा घर समेत पुर्ण रुपमा ध्वस्त बनाएको बताइएको छ।
वि.सं.२०७८ साउन १९ मंगलवार १२:५७