पछिल्ला अध्यादेशले लगानी र व्यवसायको वातावरण अभिवृद्धि भयो : उद्योगी व्यवसायी
काठमाडौं,- सरकारले पछिल्लो पटक जारी गरेका अध्यादेशले देशमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि भएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले सरकारलाई धन्यवाद दिएका छन् ।
व्यवसायीहरूले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषय स्वागतयोग्य रहेका बताएका हुन् ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासङ्घका अध्यक्ष भगीरथ सापकोटाले अध्यादेशका व्यवस्थाका कारण निजी क्षेत्रमा नयाँ रक्तसञ्चार हुने बताउनुभयो ।
कोभिड–१९ पछि सङ्कुचित अर्थतन्त्रलाई उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले तिनको कार्यान्वयनका लागि यथाशक्य उपयुक्त नियमावली र कार्यविधि ल्याउन उद्योगी व्यवसायीहरूको माग छ ।
सरकारको सिफारिशमा राष्ट्रपतिबाट गएको पुस २९ गते चार वटा अध्यादेश जारी भएका थिए । एकैपटक सिफारिश गरेको भूमि व्यवस्थासम्बन्धी अध्यादेश पनि चाँडै जारी हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले सरकारको प्रयासलाई सकारात्मक रूपमा लिइदिएकामा खुशी व्यक्त गर्दै सत्ता गठबन्धनमा रहेका दल आपसमा बसेर देश बनाउने नीति निर्माणमा प्रभावकारी ढङ्कले कदम चालिरहेको दाबी गर्नुभयो ।
वि.सं.२०८१ माघ २ बुधवार २१:३६