नेपालमा दुध उत्पादनको अवस्था, दुधको माग र आपूर्ती कस्तो छ: प्रल्हाद दाहाल
प्रल्हाद दाहाल
अध्यक्ष : नेपाल डेरी एसोसिएसन
झापा- दमक, २९ – साउन । दुग्ध क्षेत्रमा कहिले किसानले सही मूल्य नपाएको भन्दै सडकमै दुध पोक्छन् त कहिले उद्योगीहरु दुध पुगेन भनेर आयात गर्नु पर्यो भनेर मन्त्रालय धाउँछन । यो पछिल्लो समय नेपालमा दुध उत्पादनको अवस्था, दुधको माग र आपूर्ती कस्तो छ ? अहिलेको लम्की स्किन रोगले कस्तो असर पुगेको छ भन्ने विषयको पेरिफेरिमा रहि नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालसँग उर्जाशिल खबर डटकमका सम्पादक तारादेबि नेपालले गरेकाे कुराकानीको सम्पादित अंश :
डेरी व्यवसायमा संलग्न व्यवसायीहरुका समस्या के–के छन् ?
डेरी व्यवसायीको सबैभन्दा ठूलो समस्या भनेको कहिले दुध धेरै हुने र कहिले कम हुने हो । कात्तिक महिनादेखि माघ महिनासम्म दुध बढी हुन्छ । माघको अन्तिम देखि असोजसम्म हामीलाई दुध पुग्दैन । दुध उत्पादन जहिले पनि उही मात्रामा हुने हो तर माघदेखि असोजसम्म बजारको माग भने बढी हुने गरेको छ ।
अर्को समयस्या भनेको नेपालमा व्यवसायीभन्दा पनि निर्वाहमुखी पशुपालनबाट दुधको माग धानिएको अवस्था हो । अनि दुधलाई चिसोमा मात्रै राख्नु पर्ने हुन्छ । त्यसका कारण चिस्यान केन्द्रको अभाव अर्को समस्याका रुपमा रहेको छ । भौगोलीक रुपमा टाढाटाढाबाट दुध ल्याएर राख्नु पर्ने हुन्छ ।यसकारण पनि सधैं भनेको जस्तो गुणस्तर कायम राख्न कठिन हुन्छ।
अर्को भने उद्योग खोल्नका लागि जग्गाको उपलब्धता नहुनु हो पनि । यदि जग्गा किन्ने हो भने सबै लगानी जग्गामा जान्छ । अनि उद्योग खोल्न सक्ने अवस्था नै हुँदैन । विदेशको कुरा गर्दा कृषि तथा किसान संलग्न भएको उद्योग खोल्दा राज्यले जमिन लिजमा दिने परिपाटी छ । हाम्रो देश नेपालमा यस्तो छैन । जसका कारण उद्योग खोल्नका लागि निकै गारो हुने अवस्था छ । बल्ल बल्ल उद्योग लगायो अनि त्यहाँ वरपर उद्योग भएकै कारण बस्ती बढ्दै जान्छ र पछि हुँदै गर्दा उल्टै त्यही उद्योगकै विरोध गर्दछन् ।
विदेशमा ५०–१०० वर्षसम्मका लागि लिजमा जमिन दिने सिस्टम हुन्छ । नेपालमा गाउँमा गएर उद्योग गर्न सकिदैन । त्यहाँ विद्युत तथा सडकको पहँच पुग्दैन् । सहरमा खोल्दा जमिन किन्दा महँगो पर्ने समस्या छ ।
नेपालमा औद्योगीक क्षेत्रको पनि कमि छ । जति छन त्यतिले पुगेको छैन् । त्यसमाथि भएका औद्योगीक क्षेत्रमा पनि उद्योग सञ्चालन नभएको अवस्था छ । उद्योगका लागि ठाउँ लिएकाहरुले पनि सञ्चालन नगरेको अवस्था छ । त्यस्तो ठाउँलाई चलाउन सक्नेहरुलाई दिनु पर्छ । तर उद्योग नगरि त्यत्तिकै केहि नगरी बसेकालाई राज्यले तत्काल हटाउनु पर्छ ।
अर्को समस्या भनेको गाइ पाल्नकै लागि समस्या छ । दुध दिनेबेलासम्मका लागि ठिक छ तर थारो भइसकेपछि त्यसको व्यवस्थापन गर्नु यो क्षेत्रका किसानको लागि ठूलो चुनौति हो । गाईलाई आयात निर्यात गर्न पाँइदैन् । दुध नदिने भए पनि थारो पाल्नु पर्ने बाध्यता हुन्छ । जसबाट उत्पादन हुँदैन, खान दिएर राखिराख्दा खर्च मात्रै हो । यसको तत्काल केही त केही गर्नै पर्ने देखिन्छ ।
नीतिगत रुपमै समस्या हो त ?
हो । नीतिगत रुपमा पनि समस्या छ । ठूला व्यवसायीलाई हेरेर मात्रै राज्यले नीति निर्माण गरिरहेकको अवस्था हो । तर साना तथा मझौला उद्योगको भुमिका धेरै छ । साना व्यवसायीलाई संरक्षण गर्ने किसिमको नीति आवश्यक छ । साना उद्योग कलकारखाना मैत्री नीति पनि बनाउँनु पर्ने देखिन्छ । अहिले पनि बजारको ८० प्रतिशत हिस्सा साना तथा मझौला डेरी उद्योगले धानेको देखिन्छ ।
यसका साथै उद्योग खोल्नका लागि प्रक्रियागत समेत झन्झट रहेको छ । गाडि किन्न जाँदा सहजै ऋण पाइन्छ तर व्यवसाय गर्नका लागि ऋण पाउनै मुस्किल छ । व्यवसायलाई नै धितो राखेर ऋण दिने व्यवस्था गर्नु पर्छ । जग्गा आफ्नो नाममा नभए पछि लोन पाँइदैन । जग्गा किने पछि लगानी नभएर उद्योग खोल्नै सकिदैन् । अनि कसरी गर्ने उद्योग ? त्यसकारण यी समस्या बिस्तार हल गर्दै जानुपर्छ ।
दुधजन्य पदार्थमा नेपाल आत्मनिभर बन्न सकेको छ ?
नेपालमा उत्पादन भएको दुधले ८० प्रतिशत माग पुरा गरेको छ। ।२० प्रतिशत भने अझै पनि बाहिरैबाट ल्याउनु पर्ने अवस्था छ । अबको पाँच वर्ष भित्र दुधमा पूर्ण रुपमा आत्मनिर्भर हुने गरी कामहरु भइरहका छन् । नेपालमा अहिले दैनिक ६२ लाख लिटर दुध उत्पादन हुन्छ । त्यसमध्ये ३१ लाख लिटर दुध बजारमा आउँछ । बाँकी दुध अझ पनि बजारसम्म जोड्न सकिएको छैन । त्यो दुरदराजमा भएको दुध अब बाटो पनि भनेको हुँदा बजारमा ल्याउन सक्दा यहाँको बजार यहीँको दुधको धान्न सक्छ । यो भनेको हाम्रो लागि ठूलो उपलब्धि हो। अब आयात मात्र रोक्न सक्दा पनि राज्यलाई ठूलो सहयोग पुग्न सक्छ ।
जनसंख्याको वृद्धि र दुधको उत्पादन बराबर जस्तो छ । जसले दुधमा आत्मनिर्भर हुनका लागि केही समय लाग्छ कि भन्ने हो । दैनिक रुपमा दुध पनि बढीरहेको छ अनि जनसंख्या पनि बढीरहेको छ । वृद्धि हुने दर र उत्पादन दर बराबर भएपछि समय केही बढी लाग्ने जस्तो पनि देखिन्छ ।
दुध कहिले बढी भएर सडकमा फालिन्छ त कहिले नपुगेर आयात गर्नु पर्छ भनिन्छ नि, खासमा यस्तो किन हुन्छ ?
आजभोलि बढी भएको दूध पाउडर बनाउन नेपाल मै लगभग दैनिक ४ लाखभन्दा बढि दुधको पाउडर बनाउन सक्ने पाउडर दूध बनाउने कारखाना लगाइएकोले अब त्यस्तो पहिलाको जस्तो दुध सडकमा फाल्न पर्दैन । नेपालमा पहिला पहिला धुलो दूध बनाउन कारखाना नहुँदा दुध सडकमा फाल्न परेको थियो तर आजभोलि त्यस्तो गर्नु पर्दैन । अहिले ७–८ वटा पाउडर दुध बनाउने कारखाना नेपाल मै छन् । हामीलाई लिन सिजन फागुनदेखि असोजसम्म दूध नपुग्ने हुन्छ र त्यो समयमा आफ्नो बजार बचाउनको लागि बाहिरबाट आयात गर्नुपर्ने हुनसक्छ । तर नियम अनुसार हाम्रो देशमा १०० ग्रामका पाकेट बाहेक अरु कुनै पनि दुध तथा दुग्ध पदार्थ ल्याउन नपाउने नियम छ । तर विडम्बना भन्नू पर्छ हाम्रो देशमा अहिले पनि प्रायः सबै देशका सबै सामान पाइन्छन् । त्यो कसरी आयो यो तत्काल बन्द हुनुपर्छ । बजार अनुगमन गरि अबैध रुपमा भित्रिएका सबै सामान नष्ट गरिनुपर्छ । होइन भने अब बिस्तार स्वदेशी उद्योग बन्द हुने र आयातित बस्तुले नेपाली बजार सक्काउने हुन्छ ।
अहिले दुध धेरै भए पछि पनिर, चिज, छुर्पी बनाएर पनि त्यसको सदुपयोग गरिने गरिएको छ । त्यसैले अहिले दुध फालिदैन् । धेरै भएको समयमा पाउडर बनाएर राख्ने अनि कम भएको बेला त्यसलाई प्रयोग गरेर नपुग मागलाई थेग्ने गरेका छौँ ।
व्यवसायीका लागि सरकारले के गरिदियो भने सहज हुन्छ ?
सरकारले साना तथा घरेलु डेरीहरुलाई संरक्षण तथा प्रोत्साहन गर्नु पर्यो । नेपालमा करिब १० हजार घरेलु डेरीहरु रहेका छन्। अरु बाँकी करिब ५०० को हाराहारीमा होलान् । घरेलु डेरीले आफैं स्वरोजगार हुनुका साथै स्थानीय एक दुई जानालाई रोजगारी पनि दिएको अवस्था हो । घरेलु डेरीले ५० औँ हजारलाई रोजगारी दिएको अवस्था छ ।
सरकारले घरेलुलाई साना, सानालाई मझौला र मझौलालाई ठूला उद्योगमा रुपान्तरण गर्दै जान सक्यो भने डेरी उद्योगले फट्को मार्न सक्छ । घरेलु र सानालाई प्रोत्साहन हुने किसिमको नीति सरकारको हुन पर्यो । उनीहरुले व्यवसायसँगै केही व्यक्तिलाई रोजगारी पनि दिएका छन् । यसका लागि पनि सरकारले उनीहरुको संरक्षण गर्नु जरुरी छ ।
नेपालमा चार प्रकारका डेरी रहेका छन् । तर बजार धानेको भनेको घरेलु डेरीले नै हो । ठूला डेरी र सरकारले घरेलु डेरी समस्या भए भनेर भनिरहेका छन् । बजार धान्ने पनि उनीहरु, उपभोक्ताको विश्वास पनि उनीहरुमा छ । ति घरेलु डेरीको राज्यले संरक्षण गर्नु पर्छ । उनीहरुलाई अनुदान दिनेदेखि संरक्षण गर्ने काम गर्नु पर्ने देखिन्छ । अब बिस्तार इनफर्मल रुपमा रहेका डेरीलाई मर्जरमा लगेर फर्मल तिर लैजान सक्दा मात्र सबै उद्योग टिक्न सक्छन् र देशमा पनि उद्योग रहि रोजगारी सृजना हुन सक्छ ।
ठूला डेरीले विदेशबाट आएका उत्पादनसँग प्रतिप्रर्धा गर्ने र अरु काम साना तथा घरेलु डेरीलाई जिम्मेवारी दिनु पर्छ । यसबाट सबैको बजार सहजता पनि हुन्छ र अवस्था अनुसार व्यवयास पनि गर्न सक्नेछन् ।
घरेलु डेरीले अहिले टोलटोलमा मात्रै होइन घर–घरमै पुगेर सेवा दिइरहेको अवस्था छ । उनीहरुले मेहनत गरेका छन् । त्यसमा राज्यले सहुलियत दिएर संरक्षण गर्नु पर्यो । राज्यको निगरानिमा रहेर अनुशासित रुपमा व्यवसाय गर्ने भनेको डेरी क्षेत्र मात्रै हो । किन भने बजारमा निश्चित सनयसम्म एउटै मूल्य हुन्छ । जस्तो सुकै समस्या परेको समयमा पनि सहजै उपलब्ध हुन्छ । मूल्य राज्यको नियन्त्रणमा छ ।
वि.सं.२०८० भदौ १७ आइतवार ०९:२६