जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेश बिद्यालयहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने
काठमाडौं भदौ ३१। काठमाडौं जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै भौतिक उपस्थितिमा पठन पाठन गर्न पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्नुपर्ने जनाएको छ ।
विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने प्रशासनले असोज १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि जारी गरेको आदेशमा भनिएको छ ।
प्रशासनले जारी गरेको आदेशमा अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहनुपर्ने पनि उल्लेख गरेको छ ।
तोकिएका मापदण्ड पूरा नगरी कतिपय विद्यालयहरुले विद्यालय सञ्चालनको तयारी गरेको सन्दर्भमा प्रशासनले यस्तो आदेश जारी गरेको हो।
प्रशासनले सभा, जुलुस, जात्रा, महोत्सव, भोज भतेर गर्न पनि रोक लगाएको छ भने चाडपर्वहरू सांकेतिक रुपमा मात्रै मनाउन भनेको छसाथै स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म गर्न नपाउने पनि प्रशासनले जारी गरेको आदेशमा उल्लेख छ । यसबाहेक निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ । केही दिन देखि ओरालो लागेको कोरोना संक्रमणदर पुन बढेको छ।
वि.सं.२०७८ भदौ ३१ बिहीवार २०:१९