भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्न प्रस्ताव
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने प्रस्ताव गर्नुभएको छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुनिश्चितता र भावी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले भदौको १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गरेर महाधिवेशन सुरु गर्न प्रस्ताव गर्नुभयो ।
अहिलेकै अवस्थामा क्रियाशील सदस्यताको विवाद धेरै जिल्लाहरुमा रहेको बताउँदै उहाँले भदौसम्म क्रियाशील सदस्यताका विवाद टुंगाएर १६ गतेदेखि वडा तहको महाधिवेशन सुरु गर्नुपर्ने बताउनुभयो ।
‘वडा तहको अधिवेशन भदौ १६ मा सुरु गरेर निर्वाचन आयोगलाई जानकार दिऔँ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि बाँकी तहहरूको पनि छिट्टै गर्दै जाऔँ ।’
नेता कोइरालाले कार्यकर्तालाई भ्रममा नराख्न पनि नेतृत्वलाई आग्रह गर्नुभयो । सभापति शेरबहादुर देउवाले भदौको १६ गते महाधिवेशनको उद्घाटन गर्छु भनेर कार्यकर्तालाई भ्रममा राखेको आरोप लगाउँदै उहाँले अहिलेको अवस्थामा भदौ १९ गतेभित्र महाधिवेशन सम्भव नभएको बताउनुभयो ।
वि.सं.२०७८ साउन १६ शनिवार १६:२९